आफन्त नेपालको स्थानीय सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था आफन्त नेपालले स्थानीय सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ। सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रम र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।


बैठकमा सीमा क्षेत्रमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि आफन्त नेपालले सञ्चालन गरिरहेका गतिविधि, कार्यक्रमको प्रभावकारिता तथा कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो। साथै, मानव बेचबिखन तथा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको पहिचान, उद्धार, संरक्षण र पुनःस्थापनाका लागि सरोकारवाला निकायहरूबीच कसरी समन्वय र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।


जोखिममा रहेका महिला तथा बालबालिकालाई समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने, पीडितको उद्धार तथा संरक्षणका लागि सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य गर्ने र आगामी दिनमा संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको आफन्त नेपाल शाखा गड्डाचौकीकी बोर्डर इन्चार्ज सुनिता सिनालको भनाई रहेको छ ।

बैठकले मानव बेचबिखन तथा लैङ्गिक हिंसाजस्ता सामाजिक अपराध न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीच आपसी समन्वय, सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ।

सम्बन्धित

Comments are closed.