कञ्चनपुरमै पहिलो पटक कृष्णपुर–१ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी

महेन्द्रनगर । कञ्चनपुरमा पहिलो पटक कृष्णपुर नगरपालिका–१ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । वल्र्ड भिजन नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित एकीकृत परियोजना ‘हातेमालो परियोजना’ अन्तर्गत विभिन्न सूचकहरू पूरा गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएको हो ।

बालबालिकाको अधिकार सुनिश्चित गर्ने, उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित वडाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सहभागिता तथा बालअधिकारसँग सम्बन्धित सूचकहरूलाई आधार मानेर आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि बालबालिकाको जन्मदर्ता, विद्यालयमा पहुँच, बालश्रम तथा बालविवाह न्यूनीकरण, बालसंरक्षण, बालसहभागिता र बालअधिकारको सुनिश्चितताजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्नुअघि पूरा गर्नुपर्ने सूचकहरूको अवस्था मूल्याङ्कन तथा आवश्यक तयारीका कामलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।

नेपाल सरकारले सन् २०३० अर्थात् वि।सं। २०८७ सम्म स्थानीय तहमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यले हातेमालो परियोजनाले विगतदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको परियोजनाका कार्यक्रम संयोजक रामेश्वर जैरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने प्रक्रियाअन्तर्गत हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी कामलाई तीव्रता दिइएको र अबको केही दिनभित्रै घोषणा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएपछि बालबालिकाको अधिकार संरक्षण, उनीहरूको अर्थपूर्ण सहभागिता तथा बालमैत्री स्थानीय शासनको कार्यान्वयनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले अन्य वडा तथा स्थानीय तहलाई समेत बालमैत्री शासन प्रवर्द्धनका लागि प्रेरित गर्ने विश्वास गरिएको छ ।

बैजनाथ बाल क्लबका अध्यक्ष बासुदेव पाण्डेयले कृष्णपुर नगरपालिका–१ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी हुनु हामी बालबालिकाका लागि खुसीको कुरा रहेको बताउनु भयो। विगत केही वर्षदेखकिे अथक मिहिनेत प्रयाश अब नतिजा दिने अवस्थामा पुगेको बताउनु भयो ।

बालबालिकाको हक, अधिकार र आवाजलाई सम्बोधन गर्ने वातावरण निर्माण हुनु सकारात्मक उपलब्धि रहेको जानकारी दिनुभयो । यस प्रक्रियामा बाल क्लबले पनि विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताका विषयमा स्थानीय सरकार तथा सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

वडा घोषणा भएपछि पनि बालबालिकाका सवाललाई प्राथमिकतामा राख्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । बालबालिकाको अधिकार कागजमा मात्र सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो चाहना छ ।

सम्बन्धित

Comments are closed.