भोटेकोसी बाढीमा बेपत्ता वेदकोटका प्रहरी हवल्दार भट्टको कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिने

महेन्द्रनगर । । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलाका प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्टको शव फेला नपरेपछि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिने भएको छ ।

खेमराज भट्टका सुपुत्र तथा इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत प्रहरी हवल्दार भट्ट बाढीमा परी बेपत्ता हुनुभएको थियो । लामो समयसम्म खोजी गर्दा पनि उहाँको शव फेला नपरेपछि हिन्दु धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको उहाँका भाइ दिनेशराज भट्टले जानकारी दिनुभयो ।

भाइ दिनेशराज भट्टका अनुसार आगामी मंसिर ७ गते सोमबार महाकाली नदीस्थित भुजेलाघाटमा उहाँको कुशको प्रतिमा बनाई अन्तिम संस्कार गरिनेछ ।

लामो समयसम्म पनि दाजुको शव फेला नपरेपछि परिवारले धार्मिक संस्कारअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

शवसमेत फेला नपरेको अवस्थामा परिवारले कुशको प्रतिमा बनाएर अन्तिम संस्कारको तयारी गरेसँगै परिवारजन, आफन्त तथा गाउँमा शोकको वातावरण बनेको छ ।

सम्बन्धित

Comments are closed.