महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहलको खेल मैदानमा जारी नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा कोशी प्रदेश यू–१९ ले गण्डकी प्रदेश यू–१९ लाई ३ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको हो ।
गण्डकी प्रदेश यू–१९ ले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । गण्डकीले दिएको १९२ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश यू–१९ ले ४८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएपछि लक्ष्य पूरा गरेको हो ।
यससँगै कोशी प्रदेशले प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ ।
मंसिर १० गतेदेखि सञ्चालन भइरहेको नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवं नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ भने दोस्रो हुने टोलीलाई नगद ३ लाख रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ ।
मंसिर १० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान तथा राष्ट्रिय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Comments are closed.