सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नया तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९÷८० को नयँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गते देखि लागू हुने गरी नयँ तलबमान एवम् ग्रेड स्वीकृत गरिएको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर अधिकृत स्तरका कर्मचारीको तलब वृद्धि दर १५ प्रतिशत भन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब १५ प्रतिशत अनुसार नै हुने गरी तोकिएको नयँ तलवमान अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका थिए ।
उनीहरुले आइतबार पनि आन्दोलनका कार्यक्रम जारी राखेका छन् । मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८÷७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।