यस वर्षको दशैका लागि असोज १ गते देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ निर्णय संगै आफूहरूले यसअघि नै अवरुद्ध सडकहरूको मर्मत गर्न माग गरेको जानकारी दिए । उनले भने, ‘यो मिति भन्दा अगाडि नै जहा सडक अवरुद्ध छन्, ती सबै मर्मत गर्नुपर्ने माग राखेका छौ, मर्मत गरिएन भने हाम्रा गाडीहरू उपत्यका आउन सक्दैनन् ।’
दशैमा घर जानका लागि यात्रुहरूका लागि सहज होस् भनेर वर्षेनी दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । विभागले अनलाइन बाट पनि टिकट बुकिङ गर्न सकिने जनाएको छ । यस वर्षको दशै असोज १० गते घटस्थापना परेको छ ।