कञ्चनपुरमा प्रहरी दिवस मनाईयो

महेन्द्रनगर । आफनो स्थापना दिवसको अवसरमा नेपाल प्रहरीले सोमवार ६७ औँ प्रहरी दिवस भव्यताका साथ मनाएको छ । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्ने, सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्ने कञ्चनपुर प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरीले बताए ।
सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् उनले भने,
कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उनको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उनले बताए । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गरेको उनले बताए ।
अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उनको भनाइ छ । उनले भने, सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उनको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उनको भनाइ छ ।

कार्यक्रमको अवसरमा कञ्चनपुरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरेको हो । सुदूरपश्चिम प्रहरी कार्यालयबाट प्रहरी हवल्दार दीपक विष्ट र अन्य प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुरस्कार वितरण गरेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुरसिंह धामी, इप्रका गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथ, प्रहरी सहायक निरीक्षकत्रय पदमसिंह बडाल, तिलक चन्द र महादेव पन्त, प्रहरी हवल्दार देवेन्द्र भट्ट, प्रेम खड्का, प्रहरी सहायक हवल्दार सपना ऐर चौधरी, भीमबहादुर घर्ती, लोकेन्द्र कठायत, श्रीनिवास लुहार, वीरेन्द्र विष्ट, प्रकाश भट्ट, प्रहरी जवान गोविन्दबहादुर चौधरी, नरेशकुमार बम, गणेश बोहरा, प्रकाश चन्द, विशन नाथ, महेशसिंह बोहरा, सहायक कर्मचारी यज्ञराज जोशी, रामअब्दुल ठाकुरसहितका प्रहरी कर्मचारीलाई नगद पुरस्कार वितरण गरिएको हो । अमर प्रहरीका तर्फबाट सीता बोहरा, विष्ना पन्त, भगवती फर्स्वानसहितलाई सम्मान गरिएको छ ।

सम्बन्धित

Comments are closed.