कञ्चनपुरमा ६६ मतदान स्थल अति संवेदनशील

महेन्द्रनगर । आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको लागि कञ्चनपुरमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । कञ्चनपुरमा कायम भएको १ सय ३२ मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदान स्थल सामान्य रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यो जिल्लामा ३ सय ४६ वटा मतदान केन्द्र छन् तीमध्ये १ सय ८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख उदयराज जोशीले जानकारी दिएका छन् ।

१ हजार मतदाता रहेको क्षेत्रमा १ मतदान केन्द्र बनाउनुपर्ने नियम रहेको उनले बताए । मतदान केन्द्र र मतदान स्थलमा म्यादी, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र नेपाली सेनालाई खटाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पहिलो घेरामा प्रहरी र म्यादी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा अनुसन्धान कर्मचारी र चौथो घेरामा नेपाली सेना खटिनेछ । ‘भौगोलिक दुरी, सडकहरुको कनेक्सन र सुरक्षाको हिसाबले मतदान स्थलहरुलाई विभाजन गरिएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमध्ये ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय ४ संवेदनशील छन् ।

यस्तै ४०५ मतदान स्थल भौगोलिक तथा सुरक्षाका हिसाबले सामान्य अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौती लगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको हो । ३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ७ सय १० अति संवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सामान्यभन्दा संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको यो प्रदेशमा संवेदनशीलता अनुसार निर्वाचनमा सुरक्षाकर्मी खटाइने जनाइएको छ ।

तर, सुरक्षाकर्मी के, कसरी र कति सङ्ख्यामा खटाइने भन्ने निक्र्योल कात्तिक ५ गते मात्रै गरिने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयका अनुसार २३७ मतदान स्थल रहेको कैलालीमा ५३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै १ सय ३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १ सय ५८ अति संवेदनशील, ३४४ संवेदनशील र १२७ मतदान केन्द्र सामान्य रहेका छन्। कैलाली प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र कायम छ ।

सम्बन्धित

Comments are closed.