१२ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन सहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।
यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । नेकपा एमालेबाट डा। विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।
राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्री सहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् ।

सम्बन्धित

Comments are closed.