सिन्धुलीमा बस दुर्घटनाः ५ जनाको मृत्यु, २८ घाइते

महेन्द्रनगर । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन् । सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी सिलवालले जानकारी दिए । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ । सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ। दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।चालक फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

सम्बन्धित

Comments are closed.