महेन्द्रनगर । कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकी मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएसँगै नेकपा एमाले केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ ।गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा सत्ता गठबन्धन बनेपछि सात मध्ये ४ प्रदेशमा एमालेले सरकार नेतृत्व गरेको थियो ।
एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । सुदूर पश्चिमका रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एक महिनामै ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएसँगै रावल नेतृत्वको सरकार गत माघको तेस्रो सातामै ढलेको थियो ।फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा नयाँ समिकरण बनेपछि प्रदेशमा एकपछि अर्को गर्दै एमाले नेतृत्वका सरकार ढले ।
गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो । कोशी प्रदेशमा सरकार कसको बन्ने भन्ने अन्यौल रहेको छ । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् ।
वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् ।गत मंसिरमा भएको आमनिर्वाचन अघि पनि एमाले सातै प्रदेश र केन्द्रको सरकारबाट बाहिरिएको थियो ।
Comments are closed.