आज र भोली मौसमको अवस्था यस्तो छ

महेन्द्रनगर । मौसममा तत्काल उल्लेख्य सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । मौसमविद सन्जिव अधिकारीले भने, ‘मौसममा उल्लेख्य सुधार छैन ।

आज पनि सामान्यदेखि पूर्ण बदली छ । भोलि पनि बदली सुधार हुने देखिँदैन ।’ उनले काठमाडौंमा अहिले पानी पर्न रोकिए पनि दिउँसो मध्यम खालको वर्षाको सम्भावना रहेको बताए । मौसमविदहरुले ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम भन्ने गरेका छन् । काठमाडौंमा मंगलबार २४ घण्टाको अवधिमा ८४ मिलिमिटर वर्षा भएको थियो । सामान्य खालको वर्षामै काठमाडौं उपत्यकामा बाढी र डुबानको समस्या थियो ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालतर्फ सरेकाले त्यसको प्रभावले देशभर वर्षा भएको छ । नेपालमा बंगलादेशको उत्तरी भूभाग आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ । त्यसैले मौसम सुधारको सम्भावना तत्काल नरहेको पूर्वानुमान गरिएको हो ।

आगामी २४ घण्टा पनि नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित

Comments are closed.