महेन्द्रनगर । कैलालीकी गोल्ड मेडल बिजेता खेलाडीको मृत्यु भएको छ । मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकलाई ठक्कर दिँदा एक खेलाडीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन्। उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ। भने ११ जना घाइते भएका छन्। कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुदूरपश्चिम यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उसुका राष्ट्रिय रेफ्रि राजिव गुप्ताले हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेको बताए। खड्काको मृत्युको खबरपछि परिवारका सदस्य बुटवल गएका छन्। उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ।
साथै बसमा सवार खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग, सृजना विसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरु खुशीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको छ।
Comments are closed.