महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले धनगढीमा आयोजित दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। देशभरका १५ टोलीको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले अन्य १४ टोलीलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले विद्यार्थीहरूको अथक मेहनत, परिश्रम र लगनशीलताका कारण प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको बताउनुभयो।
उहाँले विद्यार्थीहरूको निरन्तर अभ्यास, अनुशासन र मेहनतले यो सफलता सम्भव भएको उल्लेख गर्दै खेलकुद क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले निरन्तर प्रोत्साहन गर्दै आएको बताउनुभयो।
विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। प्रतियोगिताको उपाधि जितेसँगै विद्यालय परिवार तथा विद्यार्थीहरूमा उत्साह थपिएको छ।
विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको छ। यस सफलताले विद्यालयमा क्रिकेट खेलप्रतिको आकर्षण बढाउनुका साथै आगामी दिनमा थप सफलता हासिल गर्न खेलाडीहरूलाई प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
Comments are closed.