महेन्द्रनगर । कञ्चनपुरमा आयोजनाका भएको तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ र आर्मी क्लब विजयी भएका छन् । आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब, एपीएफ र आर्मी क्लब विजयी भएका हुन् ।
पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५–१३, २५–१८ र २५–१४, एपीएफले मधेशलाई २५–१३, २५–१२ र २५–२० र आर्मीले वाग्मती प्रदेशलाई २५–१२, २५–२१ र २५–२२ ले पराजित गरेको हो । आयोजक सुदूरपश्चिम र कर्णाली प्रदेश बीचको अन्तिम खेल खराब प्रकाशका कारण रोकिएको छ ।
दुवै टिमले एक÷एक सेट जितेका थिए । स्थगित भएको खेल सोमबार पुनः खेलाइनेछ । माघ २० सम्म चल्ने प्रतियोगितामा तीन विभागीय र सातवटै प्रदेशका गरी १० वटा टिमको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्वितीय हुनेले २ लाख र तेस्रो हुनेले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।
सेमिफाइनलदेखिका खेलमा म्यान अफ द म्याच हुने खेलाडीले पनि ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिने आयोजक जनाएको छ ।