त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

महेन्द्रनगर । आइसिसी विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। बिहीबार नामिबियासँग ४ विकेटले पराजित भएसँगै नेपालले लिग(२ हारबाट सुरु गर्न बाध्य भयो। यो सिरिजमा नेपालले अब शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नेपालले खराब ब्याटिङ गर्दा हार बोहोर्न बाध्य भयो। यससँगै नेपालको घरेलु मैदानमा १५ खेलको जित यात्रा पनि समाप्त भएको छ।

सन् २०२२ को नोभेम्बर यता घरेलु मैदानमा खेलिएका १५ एकदिवसीय खेलमा नेपालले जित निकालेको थियो। १६औं खेलमा भने बिहीबार नेपाल पराजित भयो।त्यसयता नेपालले घरेलु मैदानमा लगातार जित निकालेको थियो। नेपालले १५ मध्ये युएईलाई पाँच खेलमा,क्यानडालाई तीन खेलमा, स्कटल्यान्ड, नामिबिया र पिएजीलाई दुई दुई खेलमा तथा ओमानलाई एक खेलमा पराजित गरेको थियो।

सन् २०२२ को नोभेम्बरमा युएईविरुद्ध खेलिएको सिरिजको पछिल्ला दुई खेल, सन् अघिल्लो संस्करणको लिग(२ का अन्तर्गत २०२३ मा खेलिएका आठ खेल, गत वर्ष भएको एसिसी प्रिमियर कपको दुई खेल र गत महिना क्याडनाविरुद्धको तीन खेल गरी नेपालले घरेलु मैदानमा लगातार १५ एकदिवसीय खेलमा जित निकालेको थियो। यस्तै बिहीबार नेपालले घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा अहिलेसम्मकै न्यून स्कोर बनायो।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमा अलआउट भयो। नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो। यसअघि घरेलु मैदानमा नेपालको न्यून स्कोर १७९ रन थियो। नेपालले सन् २०२२ मा कीर्तिपुरमा युएईविरुद्ध ९ विकेटको क्षतिमा १७९ रन जोडेको थियो।

यस्तै २०२१ मा ओमानसँग पनि कीर्तिपुरमा नेपाल १७९ रनमै अलआउट भएको थियो। यी दुवै स्कोर नेपालले दोस्रो इनिङ्ग्समा बनाएको थियो। बिहीबार १३२ रनमा अलआउट भएको नेपालको यो एकदिवसीय खेलमा आठौं न्यून स्कोर हो। नेपालको एकदिवसीय खेलमा न्यून स्कोर १०३ रन हो। नेपाल २०२२ मा युएईसँग १०३ रनमा अलआउट भएको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.