महेन्द्रनगर । कञ्चनपुरमा डे नाईट टि–१० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्वर ११ को आयोजनामा दोस्रो मेयर कप डे नाईट टि–१० क्रिकेट प्रतियोगिता आईतवारदेखी शुरु भएको हो । श्री सिद्धनाथ अमर माध्यमिक विद्यालय भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा चैत्र २५ गतेदेखी उक्त खेलको संचालन भईरहेको छ ।
आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले गत वर्ष पहिलो मेयर कपको आयोजना भएको र यो वर्षपनि त्यसैलाई निरन्तरता दिनका लागी दोस्रो मेयर कप डे नाईट टि–१० क्रिकेट प्रतियोगिता संचालन भएको बताउनु भयो । कञ्चनपुरको क्षेत्र नम्वर ३ मा रहेका ३० वडा मध्ये अहिले २४ वटा टिम दर्ता भएको जस मध्ये उक्त क्षेत्रमा रहेका नेपाल प्रहरीको टिम र सिएमजी क्लब पनि सहभागी भएको अध्यक्ष थापाले बताउनु भयो ।
लिग चरणमा खेलहरु खेलाईने अध्यक्ष थापाले जानकारी दिनु भयो । यो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद २ लाख ५१ हजार प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिने छ भने, दोस्रो हुने टिमलाई नगद १ लाख २१ हजार प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिने भएको छ । यो संगै प्रत्येक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु, म्यान अफ द म्याच, लगायतको पनि व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
खेलाडीहरुलाई आफुमा भएको प्रतिभा खेलको माध्यमबाट देखाउनका लागी खेलकुदको विकास गर्न पनि यो खेलकुदको आयोजना गरिएको र यो खेलकुद प्रतियोगिताबाट आगामी दिनमा हुने खेलमा पनि खेलाडीहरुले आफनो पहिचान गर्न सक्ने अध्यक्ष थापाले बताउनु भयो ।
साथै, यो डे नाईट क्रिकेट प्रतियोगिताले रातीमा पनि खेल गर्न सकिन्छ, र स्थानिय स्रोत र साधनको प्रयोग गरेर पनि खेलकुदको आयोजना गर्न सकिन्छ, धेरै खर्च गर्न पर्दैन ईच्छाशक्ती भएपछि गर्न सकिन्छ भन्ने सन्देश दिनका लागी पनि यो खेलकुदको आयोजना गरिएको उहाँले बताउनु भयो ।
विभिन्न संघसंस्था पालिका र स्थानियहरुले गरेको सहयोगले नै यो खेलकुदको आयोजना गर्न आफु लगायत सबै सक्षम भएको बताउनु भयो ।