साउदीलाई हराउँदै नेपाल अपराजितका साथ सेमिफाइनल प्रवेश

महेन्द्रनगर । एसिसी प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह ए मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो। बुधबार ओमानको अल अमरतमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्‍यो।

नेपालका लागि गुल्सन झाले नटआउट ३२ रन बनाए। उनले १९ बलमा २ चौका र २ छक्का हिर्काए। कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १६ रन बनाए। त्यसअघि ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए। कुशल मल्ल २ रनमै आउट भएका थिए। दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडे।

वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो। साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे। उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २(२ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीले १(१ विकेट हात पारे। नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.