सन् २०२० को पहिलो तीन महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६ दशमलव ८ प्रतिशतले कमी आएको छ । यो कमी सन् २०१९ को पहिलो तीन महिनाको तुलनामा हो । तर पछिल्लो तीन महिनासँग यसको तुलना गर्ने हो भने चिनियाँ अर्थव्यवस्था झन् धेरै खस्किएकाे छ । पछिल्लो तीन महिनाको तुलनामा यो ९ दशमलव ८ प्रतिशतले कमी हो ।
शङ्घाईमा रहेका बीबीसी संवाददाता रोबिन ब्रान्टका अनुसार कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि चीन अर्थव्यवस्थामा परेको प्रभावसँग सम्बन्धित आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने विश्वको पहिलो देश हो ।
चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा कमी आए पनि रोजगार स्थिर रहेको र अभाव छैन । यद्यपि अहिले बेरोजगारी ६ दशमलव २ प्रतिशत छ ।
तर चीनको सार्वजनिक गरेको तथ्याङ्कमा विश्वास गर्न गाह्रो छ । बीबीसी संवाददाता रोबिन ब्रान्टका अनुसार सरकारी तथ्याङ्क सार्वजनिक गर्ने मामिलामा चीनको छवि स्पष्ट छैन ।
उनका अनुसार चीनको सरकारी तथ्याङ्कले चीनको वास्तविक अर्थव्यस्थाको साटो मात्र एक सङ्केतको दिशा दिन्छ ।
चीनको तथ्याङ्क ब्युरोका अनुसार कोरोनाका कारण केही समयको लागि अर्थव्यवस्था प्रभावित भए पनि लामो समयसम्म यसले विकासमा प्रभाव पार्ने छैन । ब्युरोका अनुसार चिनियाँ अर्थव्यवस्थाको आधार बलियो छ, त्यसमा केही परिवर्तन भएको छैन । आर्थिक सुधारबाट घरेलु मागमा बढोत्तरी हुनेछ ।