महेन्द्रनगर। अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ ।
तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् ।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, ‘हामीलाई सहयोग आवश्यक छ, किनकि यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए ।’
तर अहिलेसम्म कुनै पनि देश र विदेशी संस्थाले उद्धार वा राहतका लागि सहयोगको प्रस्ताव नगरेका अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ । उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । मन्त्रालयका अनुसार ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।
८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नाग्गारहारमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको हो । तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार उद्धारकर्मीहरू पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा पुग्न संघर्ष गरिरहेका छन्, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ ।
ग्रामिण क्षेत्रमा भूकम्पका कारण माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएकाले जनधनको ठूलो क्षति भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा जनसंख्याको आधाभन्दा बढी हिस्सालाई तत्काल मानवीय सहायताको खाँचो छ ।
भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजान लगायतका देशले अफगानिस्तानमा भूकम्पका कारण भएको क्षति प्रति दुस्ख व्यक्त गरेका छन् । जसमध्ये चीनले भने अफगानिस्तानको आवश्यकताअनुसार र आफ्नो क्षमताभित्र राहत सहयोग गर्न तयार रहेको बताएको छ ।
Comments are closed.