पुनर्वासमा भारत आवतजावत गर्न अब परिचयपत्र अनिवार्य

महेन्द्रनगर । भारतसँग सिमा जोडिएको कञ्चनपुरको पुनर्वासबाट नेपाल–भारत आवतजावत गर्ने नागरिकका लागि परिचयपत्र अनिवार्य गरिएको छ।

शनिबार पुनर्वास नगरपालिका–६ स्थित सशस्त्र प्रहरी बल बीओपी त्रिभुवनबस्तीमा बसेको सिमा सहजीकरण समितिको बैठकले उक्त निर्णय गर्दै सूचना जारी गरेको हो।

केही दिनयता भारत र पाकिस्तानबीच अघोषित युद्ध सुरु भएको अवस्थालाई मध्यनजर गर्दै सिमा क्षेत्रमा बसोबास गर्ने वा काम विशेषले भारत–नेपाल आवतजावत गर्ने नेपाली नागरिकलाई कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले परिचयपत्र अनिवार्य गरिएको सिमा सहजीकरण समिति संयोजक तथा पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष मित्रसिंह लामाले जानकारी दिए।

आफ्नो परिचय खुल्ने नेपाली नागरिकता प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र वा भोटर कार्ड मध्ये कुनै एक अनिवार्य रूपमा हुनुपर्नेछ। विद्यार्थीको हकमा सम्बन्धित विद्यालयको आईडी कार्ड साथमा हुनुपर्ने सशस्त्र प्रहरी बल, वडा नं. ६ का सहायक प्रहरी निरीक्षक नवराज शाहीले जानकारी दिए।

समितिले सो बैठकमा थप चार महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। अत्यावश्यक विषयबाहेक चोरी–पैठारी वा सामान्य कामका लागि सिमा आवतजावतमा पूर्ण रोक लगाइने र सूचना प्रवाह पश्चात अटेर गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए।

भारतबाट चोरिछिपी सानो वा ठूलो परिमाणमा अवैध सामान ल्याउने कार्यमा पूर्ण प्रतिबन्ध लगाइने, सिमासम्बन्धी अपराध तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने निर्णय पनि गरिएको छ। हालका लागि सिमा नाका खुला नै रहेको समितिले स्पष्ट पारेको छ।

सिमा सहजीकरण समिति बैठकमा वडा अध्यक्ष मित्रसिंह लामा, वडा सदस्य भावना स्वर्णकार, व्यापारी तथा समाजसेवी श्रीकृष्ण नेपाल, शिक्षक प्रतिनिधि युवराज सुयल, उद्योग वाणिज्य संघका प्रतिनिधि देवी भट्ट, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाही, र सशस्त्र प्रहरी बल वडा नं. ६ का सहायक प्रहरी निरीक्षक नवराज शाहीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.