डडेल्धुराको आलितालमा रुख ढल्दा एक महिलाको मृत्यु, आमा घाइते

महेन्द्रनगर । डडेल्धुराको आलिताल गाउँपालिकामा रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छिन्। बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि रुख ढल्दा उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय राम कुँवरका अनुसार घरमाथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो। “कोठामै थिइन्, अचानक रुख खसेर उनको मृत्यु भयो,” कुँवरले जानकारी दिए। उक्त घटनामा रतन कामीकी आमा राधा कामी पनि घाइते भएकी छन्। स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा चोट लागेको छ। प्रहरी अहिले घटनास्थलमा पुगिसकेको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। रविना कामीका एक छोरा र एक छोरी छन्।

रुखले कामीको घर पनि पूर्णरूपमा क्षति र्पुयाएको छ। स्थानीयवासीहरू भन्छन्, “घरनजिकै उभिएको रुखले ज्यान लिन्छ भन्ने कसैले कल्पना गरेका थिएनौं।” यता, कञ्चनपुरमा चट्याङका झिल्का लागेर एक महिला घाइते भएकी छिन्।

चट्याङका झिल्का लागेर दोधाराचाँदनी नगरपालिका–३ की चन्द्रा सुनार सामान्य घाइते भएकी हुन्। उनको दोधारचाँदनी नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

बुधबार वर्षासँगै आएको हावाहुरी र चट्याङबाट २ घरमा क्षति पुगेको छ। भीमदत्त नगरपालिका–१४ का प्रितबहादुर विष्टको घरमा चट्याङबाट क्षति पुगेको छ। घरमा जडान गरिएका विद्युतीय सामाग्रीमा क्षति पुग्नुका साथै घरको छतमा समेत प्वाल परेका छन्।

यसैगरी, हावाहुरीले बेलौरी नगरपालिकाका ठाकुरराम चौधरीको ३ कोठाको कच्ची घरको छत उडाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ वर्षमा देशभर १ हजार २ सय ६२ जनाले चट्याङमा परेर ज्यान नै गुमाएका छन् ।

वैशाख, २०६८ देखि चैत, २०८१ सम्ममा चट्याङबाट ३ हजार ५ सय ५६ जना घाइते भएका छन् ।

सम्बन्धित

Comments are closed.