महेन्द्रनगर । कैलालीकी एक महिलाले ‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घरजग्गा मागेको खुल्न आएको छ ।
कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङले हनी ट्रयापमा पारेर अबैध कार्य गरेको भन्दै उनिसहित भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार हनी ट्रयाप कार्यमा संलग्न दुई युवती पक्राउ गरेको हो। उनीहरूले पीडितसँग फेसबुकमार्फत चिनजान गरेको र सम्बन्ध बढाएको प्रहरीले जनाएको छ।
त्यसपछि काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराएको र अचेत अवस्थामा पीडितको अश्लील फोटो र भिडिओ बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। त्यसपछि ती फोटो र भिडिओ प्रयोग गरेर ब्ल्याकमेल गर्न थालेका थिए।
सुरुमा उनीहरुले ‘काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भनेर धम्की दिन थालेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले तत्काल पाँच लाखको चेक काट्न बाध्य पारेर लगेका थिए।
यही सूचना प्रहरीले पाएपछि बुधबार काठमाडौंको हनुमानस्थानबाट दुवैजनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूबाट पीडितले आँचल चौगुठीको नाममा काटिदिएको प्राइम कमर्सियल बैंकको चेक पनि बरामत गरेको छ। जसमा पाँच लाख रुपैयाँ उल्लेख छ।
यस्तै दुवैजनाको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक९एसपी० काजीकुमार आचार्यले जानकारी दिए।
Comments are closed.