महेन्द्रनगर । अछाममा सोमबार साँझ करिब ५:०० बजे आएको भीषण हावाहुरीले जिल्लाभरका विभिन्न ठाउँहरूमा क्षति पुर्याएको छ।
पञ्चदेवल बिनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल बिनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ।
बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै साे ठाउँको लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुईतले चारकोठे टिनछाएको कच्ची घरको छाना उडाएको छ।
पञ्चदेवल बिनायक–३ का सिरे कामीको जस्तापाताले छाइएको दुईतले घरको छाना उडाएको छ भने, नादीमा बस्ने तप्तराज तिमिल्सैनाको घरमा भने मेलको रुख भाँचिएर घरमाथि खसेपछि घर पूर्ण रूपमा भत्किएको छ।
रामारोशन गाउँपालिका–५, नेटाकोटस्थित यशोदा माविको दुईतले एक कोठे भवनको टिनको छाना उडाएको छ। त्यस्तै, सोही ठाउँका शक्ति बहादुर साउँदको गाडी राख्ने ग्यारेजको छानासमेत हावाहुरीले उडाएको छ।
यसैगरी, पञ्चदेवल बिनायक–५ का टंक बहादुर साही, वडा नं. ४ का मिन बहादुर बिक, र वडा नं. ३ का दान बहादुर कठायत, भरत अधिकारी, र रण बहादुर रावलका घरहरूमा पनि छाना र संरचनात्मक क्षति पुगेको छ। कमल साउँदको जस्तापाताको घर त पूरै उडाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति नभएको पुष्टि भएको छ। यद्यपि, प्रभावित परिवारहरूले दैनिक बसोबासमा कठिनाइ भोग्नुपरेको जनाएका छन्।
स्थानीय तह र सम्बन्धित निकायले घटनाको विस्तृत विवरण संकलन गर्दै प्रारम्भिक क्षति मूल्याङ्कन सुरु गरिसकेको छ। राहत तथा पुनःनिर्माणका लागि आवश्यक कदम चालिने जनाइएको छ।
Comments are closed.