महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी विरुध एक करोड ८ लाख ३८ हजार तीन सय २ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए। त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। उक्त आरोपपत्रमा सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उल्लेख गरिएको छ ।
उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा निज दीर्घ बहादुर सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा निजसमेतको खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट
प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक वचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा रु.८५,५१,३३४।९२ (पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा) वैधानिक आय आर्जन गरेको देखिएको आरोपत्रपमा लेखिएको छ ।
यसैगरी सोही जाँच अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, निजको श्रीमती संचालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी
जम्मा रू. १,९३,८९,६३७÷४९ (एक करोड त्रियानब्बे लाख उनानब्बे हजार छ सय सैतीस रुपैयाँ उनान्पनचास पैसा) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा निजको जाँच अवधिको कुल÷समग्र आयबाट सोही अवधिको कुल÷समग्र खर्च तथा लगानी (कुल व्यय) घटाउँदा रु.१,०८,३८,३०२।५७ (एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रूपैयाँ
र सन्ताउन्न पैसा) ले कुल आयभन्दा कुल व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा निजले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले जनाईएको छ ।
Comments are closed.