डडेल्धुरामा ७१ करोड बढी मूल्यको आलु उत्पादन

महेन्द्रनगर। जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रमाफलमा लगाईएको आलुको उत्पादन पछिको मूल्य ७१ करोड बढी पुगेको छ । बर्खे र हिउदे गरि डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ ।

मध्य पहाडी जिल्ला डडेल्धुरामा बर्खे आलु ४०० हेक्टर र हिउदे आलु ७२२ हेक्टर क्षेत्रफलमा लगाईने गरेको तथ्यांक प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन ईकाई डडेल्धुराको छ ।

कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतका अनुसार अहिले बर्खे आलु खन्ने क्रम जारी छ । बर्खे आलुखेती दुई हजार मिटरको उचाई भएका क्षेत्र खासगरी अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाको केही भेगमा गरिन्छ ।

अहिले बाली कटानी गर्दा औसतमा प्रतिहेक्टर ३० मेट्रिकटन उत्पादन निस्किएको उनले बताए । यसरी हेर्दा बर्खे आलुको उत्पादन १२ हजार मेट्रिकटन भएको छ । उनले भने, हाल आलुको फुटकर मूल्य प्रतिकेजी ३० रुपियाँ र थोक मूल्य प्रतिकेजी २५ रुपियाँ छ ।

किसानले खेतमै प्रतिकेजी ३० रुपयाँसम्म मूल्य पाईरहेका छन । थोक मूल्य जोड्दा १२ हजार मेट्रिकटनको मूल्य ३० करोड हुन आउछ । हिउदे आलुको उत्पादन औसतमा प्रति हेक्टर २३ मेट्रिकटन थियो । दिउदे आलु १६ हजार मेट्रिकटन उत्पादन भएको थियो भने यसको थोक मूल्य जोड्दा ४१ करोड रुपियाँ हुन आउछ ।

हिउदे आलु अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा गाउँपालिकासंगै ठूलो मात्रामा भित्रिमधेश क्षेत्र चुरे पर्वतको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा गरिन्छ । बर्खे र हिउदे आलुको उत्पादन र थोक मूल्य जोड्दा वार्षिक ७१ करोड मूल्य बराबरको आलु उत्पादन हुने उनले बताए ।

उनका अनुसार यहाँ उत्पादन भएको आलु सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बिउका रुपमा निर्यात हुदै आएको छ । किसानले खायान आलु बाहेकको आलु बिउ आलुका लागि बिक्रि गर्दै आईरहनु भएको छ । बिउ आलुका लागि करिब छ महिना शित भण्डारमा भण्डारण गर्नु पर्ने कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।

गत वर्ष बिउ आलुको मूल्य प्रतिकेजी ६५ रुपियाँ थियो । उनले भने, यस वर्ष बिउ आलुको मूल्य निर्धारण गर्न बाँकी छ । मूल्य निर्धारण गरिसकेपछि बिउ आलु महंगो मूल्यमा बिक्रि हुने भएकाले समग्रमा मूल्य अझै बृद्धि हुने उनको भनाई छ ।

सम्बन्धित

Comments are closed.