सुदूरपश्चिम सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा विनियोजन गरिएको छ। प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत धार्मिक संरचना निर्माणका लागि करोडौँ बजेट विनियोजन गरेको देखिएको हो।

आर्थिक वर्ष २०८२÷८३ मा मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइमार्फत कार्यान्वयन हुने गरी प्रदेशको नौ वटै जिल्लामा १९१ धार्मिक संरचना निर्माणका लागि सरकारले २९ करोड ४४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले सबैभन्दा बढी मन्दिर निर्माणमा बजेट विनियोजन गरेको छ। हवनकुण्ड, धर्मशाला, मन्दिरको पर्खाल निर्माणमा पनि ठुलो बजेट विनियोजन गरिएको छ। ख्रिस्टीय मण्डली, मस्जिदलगायतमा पनि बजेट हालिएको छ।

प्रदेश सरकारले कुल देवताको मन्दिरदेखि न्यौपाने समाजको मन्दिर निर्माणसम्म बजेट विनियोजन गरेको छ।धार्मिक संरचना निर्माणका लागि न्यूनतम सात लाखदेखि बढीमा एक करोड ५० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम पुस्तिकामा उल्लेख भएको विवरण अनुसार सबैभन्दा धेरै धार्मिक संरचनामा १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। यस्तो संरचना निर्माणका लागि सबैभन्दा बढी कैलालीमा बजेट विनियोजन गरेको छ।

सबैभन्दा कम बाजुरामा बजेट रहेको छ। कैलालीमा ६१ वटा धार्मिक संरचना निर्माणका लागि जम्मा ११ करोड ३३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित कैलाशधाम अधुरो मन्दिरमा भौतिक संरचना निर्माणका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

कैलाली क्षेत्र नम्बर २ मा थारू मरुवा निर्माणका लागि पनि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। कैलालीमै कर्णालेश्वरधाम महादेव मन्दिरको पूर्वाधार र धनगढीमा बलराम कृष्ण मन्दिर निर्माणका लागि ५०÷५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

बैतडीमा २७ वटा धार्मिक संरचना निर्माणका लागि चार करोड ४९ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। यो जिल्लाको दशरथ चन्द नगरपालिका–१० स्थित सत्पाली नागार्जुन मन्दिर, गेट, घेरबार, पर्खाल निर्माणका लागि ९५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

कञ्चनपुरमा पनि २७ वटा धार्मिक संरचना निर्माणका लागि तीन करोड ३८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यस जिल्लाको भम्केनी धाममा नेपाल आमाको मूर्ति स्थापनाका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित

Comments are closed.