एसईईका उत्कृष्ट विद्यार्थीलाई एनप्याब्सन कञ्चनपुरद्वारा सम्मान

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० कञ्चनपुरले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार भीमदत्त नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका बीच २३ विद्यालयका १४९ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

एनप्याब्सन कञ्चनपुरका सहसचिव सुरेन्द्र राज जोशीका अनुसार ३.६० देखि ३.९६ जीपीए प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सफलताको प्रमाणपत्र प्रदान गर्दै खादा र टिका लगाएर सम्मान गरिएको थियो। यसका साथै, सहभागी २३ वटै विद्यालयलाई पनि सम्मान पत्र प्रदान गरिएको जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विद्यार्थीको शैक्षिक विकासमा निजी विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो र आगामी दिनमा पनि नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताउनुभयो। उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि एनप्याब्सन सदैव प्रतिबद्ध रहेको र भविष्यमा पनि यस्ता सम्मान कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो।

एनप्याब्सन कञ्चनपुरका सचिव कुबेर खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो।

एनप्याब्सन कञ्चनपुरले हरेक वर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै आइरहेको छ। हाल एनप्याब्सन कञ्चनपुरमा १४९ सदस्य विद्यालयहरू रहेका छन्।

सम्बन्धित

Comments are closed.