निर्वाचनका लागि पार्टी तयार नै भएको छैन ः एनपी साउद

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एनपी साउदले २०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् ।

ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए ।

साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ ।’

उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए । ‘हेर्दाहेर्दै २०८४ पनि नजिक आइसकेको छ ।

तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन । गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो,’ उनले भने ।

साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए । ‘मैले केन्द्रीय कार्यसमितिबाट प्रतिनिधित्व गरेको सर्लाहीमा १४औं महाधिवेशनपछि आजसम्म बैठक नै भएको छैन। अधिवेशनसमेत अधुरो छ,’ उनले भने ।

पार्टी भित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनका नाममा एकपक्षीय कारबाही भएको बताए ।

‘अनुशासनमा एकपक्षीय कारबाहीले निराशा मात्र बढाउँछ। अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागु हुनुपर्छ,’ उनले भने ।

दुई तिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेकोप्रति पनि उनले आलोचना गरे। ‘दुई तिहाइको सरकार बनेपछि सहमतिअनुसार संविधान संशोधनबारे छलफल अघि बढ्नुपर्थ्यो, त्यसमा ढिलाइ भएको छ,’ उनले भने ।

पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि संगठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्ने उनले बताए । साउदले पार्टीलाई समयअनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र संगठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन नेतृत्वलाई आग्रह गरे

सम्बन्धित

Comments are closed.