दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटान

महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर सामुदायिक वनमा रुख कटानको काम सकिएसँगै निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो।

भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका एक हजार पाँच सय ९३ रुख काट्ने काम सकिएको छ। सुरुमा सामुदायिक वनको ४१ हेक्टर क्षेत्रफलमा रहेका एक हजार ७ सय २ रुख काटनुपर्ने भए पनि छपान गरिएका एक सय ९ रुख चोरी भएपछि काट्नुपर्ने रुखको सङ्ख्या कम भएको हो।

काठसमेत चोरी हुन सक्ने भएकाले कटान गरिएको काठ निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ। इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले रुख कटानको काम सकिएपछि फिल्ड खाली भएको बताए।

उनले अहिले पनि सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ। गजुरेलका अनुसार रुख कटानको काम सकिए पनि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचारबाट जानकारी गराइसकेको छ। अब परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पत्राचार हुनेछ।

त्यसपछि संयुक्त रूपमा शिलान्यासदेखि निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए। भारतले सुक्खा बन्दरगाह निर्माणका लागि तीन अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ।

आगामी तीन वर्षभित्र काम सक्ने लक्ष्य राखिएको गजुरेलले बताए।दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक पुग्न लागेको छ। यो बीचमा धेरै अध्ययन र अनुगमन पनि भएका छन्।

ढिलै भएपनि सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्ने भएपछि स्थानीय खुसी देखिन्छन् । सुक्खा बन्दरगाह निर्माणपछि यहाँको नाकाबाट भारतसँगको व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ।

सुक्खा बन्दरगाहकै पूर्वाधारका रूपमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ मलेरिया नालासम्म ८ किलोमिटर ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ ।

पहुँचमार्गको केही भाग कालोपत्र हुन बाँकी छ।

सम्बन्धित

Comments are closed.