कञ्चनपुरमा डेंगु नियन्त्रण गर्न ‘लार्भा खोजी तथा नष्ट’ अभियान

महेन्द्रनगर । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछी कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउने कार्य शुरु गरिएको बताए ।

उनका अनुसार डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्ने कार्य बारे समाजका अगुवाहरूलाई भेला गरेर जानकारी दिने कार्य भैरहेको छ ।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने लगायतका कार्यक्रम भैरहेको उनको भनाई रहेको छ ।

पानी राख्ने भाँडाहरू ढाकेर राख्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यो बेला लामो बाहुला भएका कपडा लगाउने,शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने,घरभित्र र वरिपरि सफा राख्ने,झ्याल, ढोकामा जाली लगाउने,सुत्ने बेला झुलको प्रयोग गर्नु पर्दछ भन्ने कुरा कार्यक्रमका माध्यबाट सचेत पार्ने कार्य भैरहेको उनले उल्लेख गरे ।

‘टुक्रा–टुक्रा प्लास्टिक, टिनका डब्बा, भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्ने,डेंगुका लक्षण (ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने, आदि) भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु पर्दछ’ उनले भने। पालिकाहरूसँग समन्वय गरी डेंगु विरुद्धको सचेतनामूलक कार्यक्रम भैरहेको उनले बताए।

 

सम्बन्धित

Comments are closed.