दोधारा चाँदनी सुक्खा बन्दरगाहः रुख कटानको काम सम्पन्न, खुल्यो निर्माणको बाटो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुुक्खा बन्दरगाह स्थलमा रुख कटानको काम सकिएको छ। भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका १ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काट्ने काम सकिएको हो।

रुख कटानको काम सकिएसंगै सुक्खा बन्दरगाह निर्माणस्थलको ‘साइट क्लियर’ भएकाले निर्माणको काम सुरु हुने भएको छ। यसअघि रुख कटानमा ढिलाइ हुँदा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छिटो रुख काट्न निर्देशन दिएका थिए।

‘विकास निर्माणका कार्यमा ढिलाइ गर्नु भनेको बाधक हो, यसले भोलीको फरक बाटो ल्याउन सक्छ । स्थानीयबाट कटानमा ढिलाइ भएको त्यसवखत गुनासो आएकाले मैले छिटो सक्न निर्देशन दिएको हो,’ ढकालले भने । ‘रुख कटान गरेर साइट क्लियर गरिएको छ, अब छिट्टै निर्माण प्रक्रिया सुरु हुन्छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने हो।

दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यासपछि औपचारिक रूपमा काम सुरु हुनेछ।’ गौरीशंकर सामुदायिक वनमा सुरुमा ४१ हेक्टर क्षेत्रफलमा रहेका १ हजार ७ सय २ रूख काट्नुपर्ने भए पनि छपान गरिएका १ सय ९ रुख चोरी भएका थिए।

कटान गरिएका रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ। सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ।

भारतले सुक्खा बन्दरगाह निर्माणका लागि ३ अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ। आगामी ३ वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक पुग्न लाग्दा अब भने यहाँका स्थानीयमा निर्माण हुने आशा पलाएको छ।

ढिलै भए पनि सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्ने भएपछि स्थानीय खुसी छन्।

सम्बन्धित

Comments are closed.