महेन्द्रनगर । कैदी बन्दीहरूले कुटेका व्यक्ति जिल्ला कारागार कैलालीका नाइके रहेको खुलेको छ।जिल्ला कारागार, कैलाली भित्र कैदी बन्दीहरुले शनिवार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट गरेका हुन्।
कैलाली प्रहरीले कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएको छ। उनको नाक र मुखमा चोट लागेको छ।
बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बाल नरसिंह राणा घटना भएलगत्तै कारागार पुगेका थिए।
जिल्ला प्रहरी प्रमुख राणाले कैदीबन्दीहरूबिच सामान्य विवाद भएको बताएका छन्। कारागारको अवस्था सामान्य भएको उनले बताए।कैलालीका प्रमुख जिल्ला अधिकार हमालले बिहिवार गरेको निरीक्षणको क्रममा ब्लक ए मा रहेका कैदीहरूसँग मोबाइल फेला परेको थियो। त्यसपछि शुक्रवार ब्लक ए मा रहेका सात जना कैदी बन्दीलाई ब्लक बी मा सारिएको थियोे।
तर, कारागारका नाइके बोगटीले आफू जेलरको मान्छे हुँ भन्दै रवाफ देखाएको भन्दै श्रेष्ठको समूहले कुटपिट गरेको खुलेको छ। तर, कैलाली प्रहरीले भने कैदी बन्दीबिच धकेलाधकेल हुँदा नाइके बोगटीलाई चोट लागेको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी हमालले पनि सामान्य विवादले घटना भएको दाबी गरेका छन्।
कारागारको सुरक्षा अवस्था अहिले सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हमालको दाबी छ। तर, कैदी बन्दीहरूले जेलर वसन्त खत्री विरुद्ध नाराबाजी समेत गरेका छन्।
उनीहरूले प्रमुख जिल्ला अधिकारी हमाल र कैलालीका प्रहरी प्रमुख राणाको अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका हुन्।
Comments are closed.