धनगढीमा भीषण आगलागीबाट आठ सटर पूर्ण रूपमा जलेर नष्ट

महेन्द्रनगर । धनगढी उपमहानगरपालिका–४ मा गएराति विद्युत सर्ट भएर भएको भीषण आगलागीमा आठ वटा सटर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

राति करिब १० बजेर ५० मिनेटमा सुरु भएको आगलागी हेलेन ट्रेड सप्लायर्स परिसरका चार सटर, परिवर्तन इन्पेक्सका तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एक सटरमा फैलिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनास्थलमा प्रमुख प्रहरी उपरीक्षक ९एसपी० बाल नरसिंह राणाको कमाण्डमा प्रहरी टोली, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो।

आगो नियन्त्रणमा राति करिब १२ बजेतिर ल्याइएको हो। प्रहरीका अनुसार आगलागीबाट सटरभित्र रहेका सम्पूर्ण सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।

हालसम्म क्षतिको यकिन विवरण संकलन भइरहेकाले क्षतिको आकलन खुलाइएको छैन। आगलागीको कारण विद्युत सर्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित

Comments are closed.