महेन्द्रनगर । कौँशीबारीका अभियन्ता पत्रकार धनसिंह धामीले अहिले धेरै किसानहरुलाई बोट बिरुवाहरु सहयोग गरेपछि कतिपय किसानहरु व्यवसायीक श्रपमा उत्पादन गरी रहेका छन् । उनले ड्रागन फ्रुटका बोटहरु निशुल्क रुपमा वितरण गरेपछि कतिपय किसानहरुले व्यवसायीक रुपमा उक्त ड्रागन फ्रुटको खेती गरीरहेका छन् ।
गत वर्ष निशुल्क विरुवा लिएर लगाएका भिमदत्त नगरपालिका ३ तिलकपुरका राजेन्द्र बहादुर विष्टले अहिले ५० हजार बढीको उक्त फल विक्री गरीसकेको बताउनु भयो । पहिलो वर्ष एक कट्टामा लगाएर आम्दानी आउन थालेपछि अहिले उहाँँले ५ कट्टामा आफनो खेती विस्तार गर्नु भएको छ ।
शुरुवातमा आफैले खाने गरी लगाएको भएपनि उत्पादन भएपछि घरमा फल खरिद गर्न आएपछि आम्दानी पनि हुने रहेछ भन्ने लागेर थप जग्गामा विरुवा लगाएको बताउनु भयो ।
कौँशीबारीका अभियन्ता पत्रकार धनसिंह धामीले विरुवाहरु निशुल्क रुपमा वितरण गरेको सामाजिक संजाल र संचार माध्यमबाट जानकारी पाएपछि आफुले पनि विरुवाहरु लिएर आएको बताउनु भयो ।
एक सिजनमा ८ पटक सम्म फल दिने एक मात्रै यो विरुवालाई लगाउन जान्नेले राम्रै आम्दानी गर्न सक्ने उहाँको अनुभव रहेको छ ।
“बाहिर जानै पर्दैन घरमै ग्राहक आउँछन एक केजीको ५ सयदेखी ६ सय सम्म दिने गरेका छन्” उहाँले भन्नु भयो, “उत्पादन बढाउन सके अझै बढी आम्दानी हुने थियो, अब धान खेती गर्ने खेतमा पनि यो फल लगाउने सोच रहेको छ ” ।
अहिले उहाँले आफैले पनि विरुवाहरु निशुल्क वितरण गर्ने गरेको बताउनु भयो । जसरी पत्रकार धामीले निशुल्क रुपमा विरुवा दिएर मैले लगाए यसरी नै आफुले पनि अहिले निशुल्क रुपमा विरुवा वितरण गरीरहेको बताउनु भयो ।
आफुले दिएको विरुवाबाट उत्पादन हुने फल र छहारी नपाएपनि लगाउने कृषकले र भबिष्यका पिडिले यसको लाभ उठाउन भन्ने मुख्य ध्येय कौँशीबारीका अभियन्ता पत्रकार धनसिंह धामीले बताउनु भयो । अहिले सम्म सयौ जनालाई निशुल्क रुपमा विरुवा वितरण गरेको र धेरै जनाले व्यवसायीक रुपमा खेती गरेको देख्दा आफुलाई खुसी लाग्ने उहाँले बताउनु भयो ।
व्यक्तिगत रुपमा, सहकारीहरुलाई, स्थानिय वडाहरुलाई, सामुदायिक वन, सामुदायिक बिध्यालयमा पनि उहाँले विभिन्न विरुवा निशुल्क रुपमा वितरण गर्नु भएको छ । हरेक वर्षको वैवाहिक वर्षगाँठमा उहाँले वृक्षारोपण गर्दै आईरहनु भएको छ ।
Comments are closed.