महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाको न्यायीक समितिमा पछिल्ला तीन आर्थिक वर्षमा जम्मा २ सय ९१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २ सय २० वटा विवाद समाधान भइसकेका छन् भने ७१ वटा अझै प्रक्रियामा रहेको समितिका संयोजक तथा नगर उपप्रमुख तुलसी जोशीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका २८ मध्ये २५ मुद्दा फछ्र्यौट भए । त्यस्तै २०८०÷८१ मा दर्ता १२२ मुद्दामध्ये ९० समाधान भए भने हालै सम्पन्न आर्थिक वर्ष २०८१÷८२ मा १४० मुद्दा दर्ता हुँदा १०४ वटा विवाद फछ्र्यौट भएका छन् । न्यायक समितिमा दर्ता हुने मुद्दाहरू मुख्यतया लेनदेन, घरायसी विवाद, बाटो सम्बन्धी, अंशबण्डा, घरेलु हिंसा र चोटपटकसँग सम्बन्धित हुने गरेको संयोजक जोशीले बताउनुभयो ।
विवाद समाधानलाई सहज बनाउन नगरपालिकाका दशै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । गाउँमै विवाद मिलाउने प्रणालीका कारण समय र खर्च दुबै बचत हुने र यसले न्यायक समितिलाई सशक्त बनाएको उपप्रमुख जोशीको भनाइ छ ।
“विवाद हुनु आफैंमा नराम्रो होइन, तर त्यसलाई सकारात्मक ढंगले समाधान गर्ने हो भने सहकार्य र विकासको बाटो खुल्छ,” उहाँले भन्नुभयो ।
बेतकोट नगरपालिकाको यो अभ्यासले स्थानीय स्तरमा न्याय प्राप्ति सहज, सुलभ र प्रभावकारी बनेको विश्वास लिइएको छ ।
Comments are closed.