महेन्द्रनगर । देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न नेपाल सरकारको उर्दीविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सक्रिय भएको छ।
परिषद् देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख मार्फत ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत कैलाली जिल्ला प्रशासन कार्यालयमा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोराको नेतृत्वको टोलीले जिल्ला प्रमुख कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएको छ।
आइतवार देशका अधिकांश जिल्लामा ज्ञापनपत्र बुझाइसकेको विद्यार्थी परिषद्ले सोमवार पनि थप जिल्लामा ज्ञापनपत्र बुझाउने अभियान जारी राखेको राष्ट्रिय सचिव बोहराले जानकारी दिए।
ज्ञापनपत्र बुझाउन प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोरा, राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सदस्य, प्रदेश पदाधिकारी र धनगढी नगरका पदाधिकारीहरूको सहभागिता रहेको थियो। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर राख्न माग गर्दै जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाएको हो।
यातायात व्यवस्था विभागले असोज १ गते देखि अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अङ्ग्रेजी भाषाको रोमन लिपीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राखि सक्नु पर्ने र अन्यथा ट्राफिक प्रहरीले कारबाही गर्ने चेतावनी दिएको निर्णयको विरोध गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले देशभरका जिल्ला प्रमुख मार्फत ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाइरहेको छ।
Comments are closed.