महेन्द्रनगर । कैलालीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । जिल्लाको लम्कीचुहाँ नगरपालिका– १ का १३ वर्षिय बालक सुवास बिकको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
स्थानिय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत सुवासलाई गत भदौ १३ गते राति करिब साढे १० बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । परिवारका अनुसार उनलाई करेत सर्पले दाहिने हातको औँलामा डसेको थियो ।
घटना लगत्तै उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । त्यहाँ एन्टिस्नेक भेनम दिइए पनि भेन्टिलेटरको अभाव रहेको भन्दै अस्पतालले नेपालगन्ज रिफर ग¥यो । परिवारजनले उनलाई कोहलपुर मेडिकल कलेज लगे पनि त्यहाँ भेन्टिलेटर खाली नभएको बताइएको थियो ।
त्यसपछि भेरी अस्पताल र अन्य निजी अस्पतालमा पनि भेन्टिलेटर नपाएपछि एक न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
भोलिपल्ट दिउँसो ३ बजेतिर भेरी अस्पतालमा सारिएका सुवासको उपचारकै क्रममा ज्यान गएको हो । पीडित परिवारले समयमै उपचार नपाउँदा र अस्पतालहरूको लापरबाहीका कारण सुवासको ज्यान गएको आरोप लगाएका छन् । लम्कीचुहामै सर्पदंशको उपचार हुने व्यवस्था भएको भए १०–१५ मिनेटमै उपचार सम्भव हुने र बालकको ज्यान बच्ने स्थानीयको भनाइ छ ।
छिमेकी पालिका बर्दगोरियामा स्थापना भएको अस्पतालले सर्पदंशको उपचार सुरु गरिसकेको भए पनि लम्कीचुहामा यो सुविधा नहुँदा यस्तो दुखद घटना घटेको स्थानीयले बताएका छन् । सुवास परिवारका एक्ला छोरा थिए । उनको निधनले परिवार शोकमा डुबेको छ ।
Comments are closed.