डडेल्धुरामा कारागारबाट सामूहिक रूपमा भागेका कैदीमध्ये ६१ कैदी पक्राउ 

महेन्द्रनगर। कारागारबाट सामूहिक रूपमा भागेका कैदीमध्ये ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार शुक्रबार बिहान सम्म ८५ जना फरारमध्ये ६१ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाइसकेको छ।

बुधबार बिहान डडेल्धुरा कारागारमा कैदीहरूले सरसामानमा आगजनी र तोडफोड गर्दै ८५ जना कैदी फरार भएका थिए। पक्राउ परेका कैदीलाई कारागारमा राखिएको र अहिले कारागारमा १०३ जना कैदी÷थुनुवा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्वर बिष्टले पक्राउ कार्य सुदूरपश्चिमका विभिन्न जिल्लामा व्यापक रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो। यस क्रममा अन्य जिल्लाबाट फरार भएका कैदी समेत पक्राउ परेका छन्।

जिल्ला डोटीस्थित बाल सुधार गृहबाट फरार भएका २ जनालाई नियन्त्रणमा लिई डडेल्धुरा प्रहरीको बाल निगरानी कक्षमा राखिएको र कञ्चनपुर कारागारबाट भागेका एक कैदीलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार कैदीको खोजी अझै जारी रहेको र पक्राउ परेकालाई सम्बन्धित जिल्लामा बुझाउने कार्य समेत भइरहेको जानकारी दिएको छ।

सम्बन्धित

Comments are closed.