कञ्चनपुर कारागार कैदी ः १४३ कैदी फर्किए कारागार

महेन्द्रनगर। । कञ्चनपुर कारागारमा १४३ कैदी फिर्ता भएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट निस्किएका १४३ कैदीबन्दी कारागारको सम्पर्कमा आएका हुन् ।

आन्दोलनकारीहरुले कारागारमै आएर कुटपिट गरेर कैदी निकालेपछि अहिले कैदीबन्दीहरु सम्पर्कमा आउन थालेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागार प्रशासनका अनुसार, शुक्रवार बिहानसम्म १४३ कैदीबन्दी कारागार फिर्ता भएका छन् ।

४७९ कैदी बन्दी रहेको कारागारमा गत मंगलबार झन्डै साढे चारसय कैदी बन्दी निस्किएका थिए । कारागार प्रशासनका अनुसार, अझै ३ सय १७ कैदी कारागार बाहिर छन् । कञ्चनपुर कारागारमा लागुऔषध मुद्दाका अत्यधिक कैदी बन्दी रहेका छन् ।

कारागार प्रशासनका निमित्त जेलर रामदत्त जोशीका अनुसार, कारागारमा १३ भारतीय नागरिकसहित १४९ पुरुष र ६ महिला गरी १६८ कैदी बन्दी लागू औषध मुद्दाका रहेका छन् ।यसैगरी जबरजस्ती करणी उद्योगका १ विदेशीसहित ९८ जना पुरुष र २ महिला कैदी छन् ।

कारागारमा कर्तव्य ज्यान मुद्दाका ५८ जना, ज्यान मार्ने उद्योगका ८ जना, मानव बेचबिखन तथा ओसार पसारमा १८ जना, चोरीतर्फ ६५ जना, ठगी मुद्दाका ९ जना, सवारी ज्यान मुद्दाका १० जना, वन्यजन्तु मुद्दाका १ जना, बहु विवाह मुद्दाका ११ जना, साङ्गठनिक अपराधका ७ जना र विविध मुद्दा अन्तर्गत १० जना कैद भोगिरहेका छन् ।

कारागारबाट निस्किएका कैदीहरूलाई फिर्ता ल्याउन प्रयासरत रहेको कारागार प्रशासनले जनाएको छ ।

सम्बन्धित

Comments are closed.