जेन्जी आन्दोलनः कञ्चनपुरमा १२ नेताका घर जले

महेन्द्रनगर । जेन्जी आन्दोलनको क्रममा कञ्चनपुर र कैलालीका नेताहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

कञ्चनपुर र कैलालीमा २१ जना नेताका २४ घर तथा निजी निवासमा आगजनी र तोडफोड गरिएको हो। कञ्चनुरमा १२ नेता तथा कैलालीमा १० जना नेताको निजी घरमा आगो लगाइएको प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकदेखि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा तोडफोड र आगजनी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

काँग्रेस नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य लेखकको बेदकोट–८ र भीमदत्त–१८ मा रहेका दुई घरमा आगजनी र तोडफोड गरिएको छ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको भीमदत्त–६ मा रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरिएको प्रहरीले जनाएको छ।

यस्तै, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रकाश रावलको भीमदत्त–६ मा रहेको एक घरमा आगो लगाउनुको साथै तोडफोड गरिएको छ। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको वडा नम्बर २ र १८ मा रहेका दुई वटा घरमा तोडफोड र आगजनी गरिएको छ।

भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखकको भीमदत्त–१८ मा रहेको घरमा आगो लागाउनुको साथै तोडफोड गरिएको छ भने एमाले नेतृ निरु पालको भीमदत्त –४ र १७ मा रहेको दुई घरमा आगो लगाइएको प्रहरीले जनाएको छ।

प्रदेश सभा सदस्य मधु भारतीको भीमदत्त–१८ मा रहेको एक घर, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको एक घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको एक घरमा पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका हुन्।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको भीमदत्त–४ मा रहेको घरमा पनि आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको छ भने कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाको कृष्णपुर–६ मा रहेको घरमा समेत आगजनी र तोडफोड गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.