विपिन जोशीको सुरक्षित मुक्तिको मागसहित आमा र बहिनी अमेरिका प्रस्थान

महेन्द्रनगर । दुई वर्षअघि लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल गई हमासको अपहरणमा परेका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको सुरक्षित मुक्तिको माग गर्दै विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

यसअघि पनि विपिनको खोजी र सुरक्षित उद्धारका लागि अन्तर्राष्ट्रिय तहमा पहल गर्न उनीहरू इजरायल पुगेका थिए । अमेरिकातर्फ प्रस्थान गर्ने क्रममा पुष्पाले सामाजिक सञ्जालमार्फत विश्वव्यापी रूपमा सहयोग र ऐक्यबद्धता जनाउन आग्रह गरेकी छन् ।

उनले लेखेकी छन्, “हामीले यसअघि अन्तर्राष्ट्रिय साथीहरू र जहाँसुकै रहेका नेपालीहरूको अपार समर्थन पाएका थियौँ । फेरि पनि सबै नेपालीहरूले आफ्नो भाषामा बोलिदिनुहोस् ।

यसले हाम्रो सङ्घर्षलाई ठूलो बल मिल्छ ।”उनले यो मुद्दा अन्तर्राष्ट्रिय प्रकृतिको भएकाले नेपाल बाहेक अन्य मुलुकका नागरिकहरूले पनि विपिनको सुरक्षित मुक्तिको पक्षमा आवाज उठाउन आग्रह गरेकी छन् ।

पुष्पाले थप लेखेकी छन्, “तपाईँहरूको सानो प्रयासले पनि विपिन दाजुको सुरक्षित मुक्तिको सम्भावना बढ्छ । कृपया आवाज उठाइदिनुहोस् ।”

सामाजिक सञ्जालमा  ह्यासट्याग प्रयोग गर्दै विश्वभरिका नेपालीलाई आ–आफ्नो स्थानबाट विपिनको मुक्तिका लागि दबाब सिर्जना गर्न अपिल भइरहेको छ ।

सम्बन्धित

Comments are closed.