नेपालका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

महेन्द्रनगर । अरब सागर र बंगालको खाडीमा विकसित भइरहेका दुई अलग–अलग न्यून चापीय प्रणालीको असर नेपालमा पनि देखिने भएको छ। मौसम पूर्वानुमान अनुसार आगामी केही दिन देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार अरब सागरमा बनेको प्रणालीको प्रभावले भारतका आन्ध्र प्रदेश, ओडिसा, गुजरात लगायत तटीय क्षेत्रमा भोलि कार्तिक १० गतेदेखि भारीदेखि अति भारी वर्षा गराउने पूर्वानुमान गरिएको छ। सो प्रणालीको हल्का प्रभाव कार्तिक ११ र १२ गते नेपालमा पनि देखिने सम्भावना छ।

नेपालमा यसको असर विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पर्ने अनुमान गरिएको छ। यी प्रदेशका तराई क्षेत्रमा हल्का वर्षा हुने र पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली भागमा हिमपात समेत हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैबीच, बंगालको खाडीमा विकसित हुन लागेको अर्को न्यून चापीय प्रणालीको प्रभाव भने नेपालका पूर्वी र मध्य भागमा बढी देखिने अपेक्षा गरिएको छ।

उक्त प्रणालीको प्रभाव बिस्तारै उत्तरतर्फ सर्दै जाने भएकाले आउँदो कार्तिक १४ र १५ गते ९शुक्रबार र शनिबार० बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।

तर, उक्त प्रणालीको असर सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भने कम हुने अनुमान गरिएको छ। मौसमविद्हरूले कृषकहरूलाई धान भित्र्याउने तथा पराल आदिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

साथै, कार्तिक १४ र १५ गतेका दिन काठमाडौं लगायत पूर्वी नेपालका हवाई तथा स्थलमार्ग प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

कार्तिक १२ र १३ गतेका अद्यावधिक जानकारीले मौसमीय प्रणालीको दिशा र प्रभावबारे थप स्पष्टता दिने महाशाखाले जनाएको छ।

सम्बन्धित

Comments are closed.