लालझाडीमा २५९ जनाको स्वास्थ्य परीक्षण, २० जनामा अपाङ्गता पहिचान

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क अपाङ्गता पहिचान शिविरमा २५९ जनाको स्वास्थ्य परीक्षण गरिँदा २० जनामा अपाङ्गता पहिचान गरिएको छ ।

युरोपियन युनियन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्युए) को प्राविधिक सहयोगमा लालझाडी गाउँपालिकाले एक दिवसीय निःशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

लालझाडी गाउँपालिका वडा नम्बर ३ मा रहेको आधारभूत अस्पताल नन्दगाउँमा भएको शिविरमा शारीरिक, आँखा तथा कानसम्बन्धी अपाङ्गता पहिचानलाई प्राथमिकता दिइएको थियो ।

शिविरमा ज्येष्ठ नागरिक, विपन्न, अशक्तदेखि विद्यार्थीसमेत सहभागी भएर स्वास्थ्य परीक्षण गराउनु भएको एनएनएसडब्ल्युएद्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरूले जानकारी दिनुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले अपाङ्गता पहिचान, अभिलेखीकरण र सेवा पहुँचलाई व्यवस्थित बनाउन यस्ता शिविर अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सामाजिक न्यायको आधार समावेशी शिक्षा भएकाले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने स्पष्ट पार्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले विगतका वर्षमा सञ्चालन गरिएका शिविरमार्फत पहिचान भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको उल्लेख गर्दै यसपटक थप वास्तविक अपाङ्गता पहिचानमा विशेष जोड दिइएको बताउनुभयो ।

सम्बन्धित

Comments are closed.