महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा असहाय तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ।
वेदकोट नगरपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लुए शारीरिक अपाङ्गता पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशीले गर्नुभएको थियो भने नगरप्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममार्फत आवश्यकता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका शारीरिक अपाङ्गता सहायक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ। सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन तथा उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोहराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा उनीहरूको जीवनस्तर सुधारका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा सहभागी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “वेदकोट नगरपालिका सबै नागरिकको साझा घर हो।
अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानपूर्ण र सहज जीवनयापनका लागि आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो, उहाँले भन्नुभयो ।
सहायक सामग्री वितरणले उहाँहरूको दैनिक जीवनमा सहजता ल्याउने र आत्मनिर्भर बन्न थप सहयोग पुग्ने विश्वास लिएका छौं। आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्नेछौं।”
यसैगरी सभाध्यक्ष जोशीले “अपाङ्गता भएका व्यक्तिहरू समाजका महत्वपूर्ण सदस्य रहेको र उनीहरूलाई आवश्यक सहयोग र अवसर प्रदान गर्नु राज्य तथा समाजको साझा दायित्व रहेको बताउनु भयो ।
आज वितरण गरिएका सहायक सामग्रीहरूले उहाँहरूको दैनिक जीवनलाई थप सहज, सुरक्षित र आत्मनिर्भर बनाउन सहयोग पुर्याउने विश्वास लिएको बताउनु भयो ।
वेदकोट नगरपालिका समावेशी विकासको अवधारणाअनुसार अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सहभागिता सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा लाभग्राहीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
Comments are closed.