महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा विश्व वातावरण दिवसको अवसरमा एन प्याब्सन भीमदत्त नगर कमिटीमा आबद्ध विद्यालयहरूले वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन् ।वातावरण संरक्षण तथा स्वच्छ नगर निर्माणमा योगदान पु¥याउने उद्देश्यले एन प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत महेन्द्रनगरस्थित सिद्धनाथ–बैजनाथ मन्दिर परिसर, बजार क्षेत्र, पर्यटकीय स्थलहरू तथा विभिन्न मठमन्दिरहरूमा सरसफाइ गरिएको थियो । सहभागीहरूले फोहोर संकलन गर्नुका साथै वातावरण स्वच्छ राख्न सर्वसाधारणलाई सचेतना समेत प्रदान गरेका थिए ।

एन प्याब्सन भीमदत्त नगर कमिटी अध्यक्ष दिजराज भट्टले वातावरण संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको चेतना अभिवृद्धि हुने बताउनु भयो ।

विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको सरसफाइ अभियानले नगर क्षेत्रको सौन्दर्य कायम राख्न तथा स्वच्छ वातावरण निर्माणमा सकारात्मक योगदान पु¥याएको उहाँले बताउनु भयो ।

विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई सामाजिक उत्तरदायित्व सिकाउने थलो पनि भएकाले एन प्याब्सनमा आबद्ध विद्यालयहरूले नगरका धार्मिक, पर्यटकीय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
यसैगरी, एन प्याब्सन भीमदत्त नगर कमिटीका सचिव तर्कराज भट्टले “विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको सरसफाइ अभियानले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध बढाउने विश्वास लिएको बताउनु भयो ।
स्वच्छ वातावरण निर्माणका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक छ र यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने बताउनु भयो ।
यो सरसफाइ कार्यक्रम आजको एकदिन मात्रै नभएर हरेक दिनजसो सरसफाई गरिनु पर्ने सहभागी विद्यार्थीहरुले बताएका थिए ।
Comments are closed.