महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लागुऔषध नियन्त्रण तथा न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय स्काउट कार्यालय, कृष्णपुर नगरपालिकाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।समुदायमा बढ्दो लागुऔषध दुव्र्यसन तथा त्यसबाट उत्पन्न सामाजिक समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित तालिममा युवायुवती, स्काउटका स्वयंसेवक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तालिममा लागुऔषधका प्रकार, यसको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, लागुऔषध दुव्र्यसन रोकथामका उपाय तथा समुदायको भूमिकाका विषयमा जानकारी गराइएको थियो ।सहभागीहरूले लागुऔषध नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारबीचको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख हेमराज ओझाले लागुऔषधको समस्या आज समाजका लागि गम्भीर चुनौतीका रूपमा देखा परेको र विशेषगरी युवापुस्तालाई यसको दुष्प्रभावबाट जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।

कृष्णपुर नगरपालिकाले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणलाई प्राथमिकतामा राखेर विभिन्न सचेतनामूलक कार्यक्रम, तालिम तथा अभियान सञ्चालन गर्दै आएको बताउँदै, लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजलाई नै नकारात्मक असर पार्ने भएकाले यसको रोकथाममा अभिभावक, शिक्षक, सुरक्षाकर्मी, सामाजिक संघसंस्था तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो ।
यसैगरी, स्थानीय स्काउट कार्यालय प्रमुख आयुक्त दिपकसिंह भण्डारीले युवाहरूलाई सकारात्मक गतिविधि, शिक्षा, खेलकुद तथा सीपमूलक कार्यक्रमतर्फ आकर्षित गर्न सके लागुऔषध दुव्र्यसन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।
हामी सबैले लागुऔषधमुक्त समाज निर्माणका लागि आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने र यस अभियानमा सधैं प्रतिबद्ध रहेर सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सुरक्षित, स्वस्थ र सभ्य समाज निर्माणमा निरन्तर लागिरहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन सचेतना अभिवृद्धिसँगै सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
Comments are closed.