कञ्चनपुर जिल्ला खेलकुद समितिमा साउन १ देखि ई–हाजिरी प्रणाली लागू

बिकाश सिंह महता

महेन्द्रनगर । कञ्चनपुर जिल्ला खेलकुद समिति कार्यालयले आगामी साउन १ गतेदेखि ई–हाजिरी बायोमेट्रिक प्रणाली औपचारिक रूपमा लागू गरेको छ।

कार्यालय प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र थप व्यवस्थित बनाउने उद्देश्यका साथ यो प्रणाली सञ्चालनमा ल्याइएको हो।

समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहका अनुसार, नेपाल सरकारको ई–हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्ने नीतिअनुसार कार्यालयमा कार्यरत कर्मचारीहरूको दैनिक उपस्थितिको अभिलेख अब डिजिटल माध्यमबाट सुरक्षित राखिनेछ।

यसबाट कर्मचारीहरूमा समयपालनको संस्कार विकास हुनुका साथै कार्यालयीय सेवा प्रवाह, प्रशासनिक अनुशासन र कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

ई–हाजिरी प्रणाली कार्यान्वयन गर्ने प्रयास अघिल्लो कार्यसमितिबाट भए पनि विभिन्न कारणले सफल हुन सकेको थिएन। कार्यालय प्रमुख गोपाल दत्त भट्टले बताउनु भयो।उनले भने, सरकारले ई–हाजिरीलाई अनिवार्य बनाएपछि आवश्यक प्रक्रिया पूरा गरी उक्त योजना कार्यान्वयनमा आएको हो।

सुशासन, पारदर्शिता, उत्तरदायित्व र आधुनिक प्रशासनिक अभ्यासलाई संस्थागत गर्ने दिशामा यो कदम कञ्चनपुर जिल्ला खेलकुद समितिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

समितिले आगामी दिनमा पनि प्रविधिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित

Comments are closed.