महेन्द्रनगर । हरेक दिन बिहानै ५ किलोमिटर साइकल चलाएर वेदकोट नगरपालिका–५ धरमपुरका गंगाराम शार्की भीमदत्त नगरपालिका–१ भाँसी पुग्नुहुन्छ ।
महेन्द्र राजमार्ग छेउको सडकमा बसेर उहाँ दिनभर फाटेका जुत्ता सिलाउने काम गर्नुहुन्छ । ६६ वर्षको उमेरमा पनि गंगारामको दैनिकी यही काममै बितिरहेको छ ।
दिनभर जुत्ता सिलाएर उहाँले १ सयदेखि ३ सय रुपैयाँसम्म कमाउनुहुन्छ त्यही कमाइबाट साँझ घरमा चुलो बल्छ र दुई बुढाबुढीको गुजारा चल्छ । गंगारामका दुई छोरा र दुई छोरी छन् ।
छोराछोरी सबैको विवाह भइसकेको छ । छोराहरू रोजगारीका लागि भारतमा छन् । अहिले घरमा गंगाराम र उहाँकी श्रीमती मात्रै बस्नुहुन्छ । उमेर ढल्किँदै गए पनि गंगारामले आफूले सिकेको सीपलाई छोड्नुभएको छैन् ।
शरीरले साथ नदिने अवस्था आउँदा पनि उहाँ काम गर्न बाध्य हुनुहुन्छ । कहिलेकाहीँ बिरामी भएर थला पर्दा उपचार गराउनसमेत समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।
दैनिक १ सयदेखि ३ सय रुपैयाँको आम्दानीले जीवन धानिरहेका गंगारामका लागि आफ्नो सीप नै अहिले बाँच्ने आधार बनेको छ । तर, अभावसँगै उहाँको मनमा खुसी भने छैन् ।
“दिनभर काम ग¥यो, जति कमाइ हुन्छ त्यहीबाट बेलुका घरमा चुलो बल्छ,” गंगारामको दैनिकीले गरिबी र संघर्षको कथा सुनाउँछ ।
६६ वर्षको उमेरमा पनि सडक किनारमा बसेर जुत्ता सिलाइरहेका गंगाराम केवल आफ्नो गुजारा चलाइरहनु भएको छैन, उहाँ श्रम र आत्मनिर्भरताको उदाहरणसमेत बन्नुभएको छ ।
तर, जीवनको यो उमेरमा राज्य र समाजबाट थोरै भए पनि सहयोग र सहारा पाए आफ्नो बाँकी जीवन सहज हुने उहाँको अपेक्षा छ ।
Comments are closed.