कञ्चनपुरका स्थानीय तहहरुले छाडाचौपायाको व्यवस्थापन गर्नका लागि चासो नदेखाएपछि अहिले छाडा चौपायाको समस्या विकराल बन्दै गएको छ ।
खासगरी कञ्चनपुरको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा ठुलो समस्याको रुपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्न नगरपालिकाहरुले पर्याप्त ध्यान दिन नसकेका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै किसानहरुले लगाएको गहुवाली तथा तरकारी बाली पनि छाडा चौपायाले खाएर नष्ट गर्न थालेका छन् ।
चुनावका बेला छाडा चौपायाको व्यवस्थापन गर्छाै भन्दै चुनावी नारा लगाएका जनप्रतिनिधीहरुले अहिले भने छाडा चौपायाको व्यवस्थापनमा ध्यान दिन नसकेको नगरवासीहरुको गुनासो छ ।
नगरवासीहरुले आफुहरुले दुख गरेर लगाएको गहुवाली र तरकारी बाली अहिले छाडा चौपायाले खाएर नष्ट गरी रहेको बताउदै पालिकाहरुले भने छाडा चौपायाको व्यवस्थापन गर्नका लागि कुनै पहल कदमी गर्न नसकेको भन्दै गुनासो गरेका छन् ।
नगरपालिकाहरुले छाडा चौपायाको व्यवस्थापनका लागि काम गरी रहेको बताएपनि त्यो व्यवहारमा भने देखिएको छैन् । छाडा चौपायाहरुले गहु खाएर नष्ट गर्न थालेपछि रातभर जाग्राम बस्नु परि रहेको किसानहरुले बताएका छन् । उनीहरुले छिट्टै छाडाचौपायाहरुको व्यवस्थापन गरीदिन पालिकाहरुसंग माग गरेका छन् ।